Sunday, April 4, 2010

म्यानपावर व्यवसायीको एउटा थेगो छ- 'हामीले बोल्ने वस्तुको व्यापार गरिरहेका छौं । जसको व्यापार गरिन्छ, उसले कहिले मेडिकल फेल भयो भन्छ, कहिले भनेजति तलब पाइनँ भन्छ, कहिले कम्पनी बन्द भयो भन्छ । बरु सिमेन्टको व्यापार गर्ने हो भने उसले यस्तो भएन/उस्तो भएन भन्नै सक्दैन, ढुक्क ।' होला ।
तर, भर्खरै कतारका नेपाली श्रमिकको अवस्था देख्दा लाग्यो- त्यहाँ त बरु सिमेन्ट बोल्छ, मान्छे बोल्न सक्दैन । त्यहाँ सिमेन्टभन्दा मान्छेको व्यापार सजिलो छ । सिमेन्टको बोरामा कम्तीमा मूल्यको छाप लागेको हुन्छ, मान्छेको मूल्य कति हो कसैलाई थाहा हुँदैन । तपाईं दलाल हो भने निर्धक्क आफूखुसी मान्छेको मूल्य राख्नुस्, सकेको कमाउन कतारमा कसैले रोक्ने छैन ! सिमेन्ट बेच्न नियम पूरा गर्नुपर्छ, विदेशी भूमिमा नेपालीले नेपालीलाई बेच्दा नियम-सियम केही चाहिँदैन । सिमेन्टको बोरालाई कसैले फसाउन सक्दैन, मान्छे त गल्लीगल्लीमा फसाइएका छन् ।

नपत्याए हेर्नुस् उदाहरण- कतारमा अदक्ष कामदारको ज्याला प्रतिघन्टा १० रियाल हो । नियमित ८ घन्टा र २ घन्टा ओभरटाइम गरी नेपाली कामदार १० घन्टा खट्छन् । त्यसको पारिश्रमिक सय रियाल हुन्छ । महिनामा काम गर्ने २६ दिनको सयका दरले २६ सय रियाल पुग्छ । कम्पनीहरूले जुनसुकै देशबाट आएका कामदारका लागि पनि त्यति मात्रामा भुक्तानी दिएका हुन्छन् । तर नेपाली कामदारले बल्ल बढेर पुगेको ८ सय र २ सय ओभरटाइम गरी मुस्किलले हजार रियाल थाप्छन् ।

बाँकी १६ सय कहाँ जान्छ ? उत्तर प्रस्ट छ- त्यो सबै आपूर्तिकर्ता अर्थात् दलालले खान्छ । सिमेन्ट ५ सयमा बेच्न ४ सय लागानी गर्नुपर्छ । कतारमा मान्छे बेच्न त एक पैसा लागानी नगरी एकजनाबाट महिनामा १६ सय रियाल अर्थात् ३२ हजार तपाईंले बुझ्नुहुन्छ । मानौं वर्षमा ५ सय कामदार आपूर्ति गर्नुभयो भने तपाईंको कमाइ १९ करोड २० लाख हुन्छ । त्यो पनि मजदुरको तलब चुसेर मात्र ! प|mी भिसा प|mी टिकटबाट क्वाप्प खाएको जोड्दा अरू करोडौं थपिन्छ !

जुनसुकै व्यापारमा २०-२५ प्रतिशत नाफा हुन्छ । सम्भवतः प्रतिशतमै ननिस्कने गरी नाफा कमिने व्यापार एउटै छ- कतारमा मान्छे पुर्‍याउने । कतारका हरेक पसल वा व्यापारिक स्थलमा छिर्नुस्- नेपाली भेट्नुहुन्छ । जसरी हामी नेपाली भेट्छौं, फिलिपिन्सको पर्यटकले आफ्नो देशको नागरिक भेट्ला । भारतीयले त्यही भन्ला । बंगलादेशीले त्यस्तै देख्ला । किनकि, कतारको श्रम बजार विदेशीको भरमा टिकेको छ । त्यसैले त्यहाँको सरकारले श्रमिकका लागि पनि भरपर्दो नियम बनाइदिएको छ । कुनै कतारीले नेपालीलाई शोषण गर्दैन, कुनै भारतीयले तलब नदिएर नेपालीलाई सताउँदैन । नेपालीलाई चुस्ने नेपाली न हुन्छन् । हामी त यस्तो देशका नागरिक भयौं, जसका सन्तानले विदेशी भूमिमा पनि आफ्ना बन्धुबान्धवलाई सताउन छाड्दैनन् ।

जतिबेला कतारस्थित नेपाली दूतावासले स्वदेशी श्रमिकको तलब २ सय बढाउने निर्णय गर्‍यो, उता र यता हल्ला चलाइयो- 'अब श्रम बजार बिग्रनेछ । कतारका कम्पनीमा नेपाली श्रमिकको माग घट्नेछ । ठूलो भाग खान खोज्दा देशलाई उल्टो घाटा लाग्नेछ ।' लाग्थ्यो- होला कि !

तर वास्तविकता बुझ्दा यो त झूट रहेछ । यो व्यवसायमा यस्तै झूटको खेती हुँदो रहेछ । हुँदाहुँदा मन्त्रालय र विभागले पनि केही समय यसै भने र त्यो निर्णय कार्यान्वयन गर्न अल्मल्याए । कतारमा फिलिपिन्सले १५ सयभन्दा कममा आफ्ना नागरिकलाई पठाउँदैन । भारतले न्यूनतम सीमा हजार राखेको छ । मलेसियामा नेपालीभन्दा कममा कामदार पठाउने बंगलादेशका नागरिकले समेत कतारमा पहिल्यैदेखि ८ सय बुझ्छन् । नेपालीलाई ६ सयबाट ८ सय पुर्‍याउँदा कसरी बजार बिग्रन्छ ? रोजगारदाता कम्पनीले २६ सय दिएकै छन्, नाफा घट्ने डरले नेपाली दलालले वाहियात हल्ला गर्दैमा कसरी बजार बिग्रन्छ ?

कतारका कम्पनीमा नेपालीको राम्रो छवि छ । त्यसैले भारतीयपछि ठूलो संख्यामा हाम्रै श्रमिक छन् । कर्मदाता कम्पनीले जुन देशबाट ल्याए पनि २६ सय दिनुपर्छ । इमानदार नेपाली उनीहरूको रोजाइमा सधैं हुन्छन् । अनि बजार कसरी बिग्रन्छ ? के ८ सयमा नेपाली नलगेर १५ सयमा फिलिपिनो लान्छन् दलालले ?मेरा एकजना दाइ कतारकै एउटा कार्यालयमा सेक्युरिटी गार्ड हुनुहुन्छ । उहाँ ५ वर्षअघि ५ सय रियाल तलबमा जानुभएको हो । गत वर्ष त्यही कार्यालयमा काम गर्ने इजिप्सियन गार्डले दलालले आफ्नो धेरै पैसा खाएर थोरै तलब दिएको थाहा पाएछ । ऊ श्रम अदालत गयो । मुद्दा जित्यो र ४० हजार रियाल अर्थात् ८ लाख रुपैयाँ क्षतिपूर्ति पायो । मेरा दाइहरू पनि अनि उक्सिए । दलाल कम्पनीको सातो उडिसकेको थियो । उसले मुद्दा नहाल्न उहाँलाई फकायो र पहिला ठगेको क्षतिपूर्ति १० हजार रियाल दियो । तलब पनि २५ सय पुर्‍याइदियो । अलि बाठो हुँदा ५ सयबाट २५ सय तलब भयो !

हेर्नुस्- दलालले कति खाँदा रहेछन् ! तपाईं पनि ८ सय होइन, १८ सय माग्नुस् । त्यतिमा पनि दलाललाई फाइदै छ । परे श्रम अदालत जानुस्, सिमेन्टभन्दा सस्तो भएर कतारमा नबेचिनुस् !

साभारः कान्तिपुर दैनिक
akhanda@kantipur.com.np

No comments:

Post a Comment